दिवाशयन हानिकारक हुन्छ तर म अलिअलि लेखिटोपल्ने लेखकसाहित्यकार जस्तो भएकाले दिवास्वप्न राजशेखर र क्षेमेन्द्रका कविशिक्षाबाट ग्रहण गरेको छु, त्यो भिटामिन झैं थोरै आवश्यक छ । ब्युँझिन्छु र घडी हेर्छु त तीन बजेको छ जम्मा तीन घण्टा निदाएछु तर यो समय धेरै हो दिवाकालीन भएकाले ! उठदै आँखा मिच्दै थिएँ अन्तर·मा नागपञ्चमीको मनोहर झङकार आउन थाल्यो, यो कुन नियतिले ?
देखेका सबै सपना भुलेँ आखिर ती दिवास्वप्न नै थिए । कुन आनन्द, कुन सन्तुष्टि र कुन मनोवृत्तिको अनर्गल यात्राको परिणाम हो, मलाई नागपञ्चमीको सजीव सम्झना हुन थाल्यो । एक मन मुखसुख नधोई लेख्न थालौँ जस्तो भयो । टिनिन्न फोन आयो उठाउँछु त गोविन्दराज विनोदीजीले तयार हुनु पन्ध्रदश मिनेटबिच लिन आउँछु रे ! भएन फसाद, आमालाई डण्डा पठाउन बस स्टेशन जानुछ ! जेठालाई फोन गरेँ, ऊ असमर्थ, कान्छालाई फोन गरेँ, ऊ जसरी पनि बसस्टेशन पु¥याउन सहमत भयो । बाहिरी टिंटीं आवाज दियो हिरो होन्डाले, चढेर पुगियो कृष्णपुर केदार, अज्ञात र पूर्ण समेतको उपस्थिति राजकृष्ण कँडेलजीका घरमा । टन्न खाइयो आँप र भाउजूको समुस्कान उपहार पोकासहित आइयो घरमा रमाउँदै । अब अघि दिवाशयनपछिका सबै कुरा लुके तर नागपञ्चमी बाँकी नै छ शीर्षक राखेँ, सारा पूर्वस्मृति सखाप ! यस अनुच्छेदपछिको शब्दयोजना जे छ, दिवास्वप्न र नागपञ्चमीको यथार्थता त्यही हुनेछ, तर बिचको व्यवधानले सटीक चित्र उत्रन गाह्रो छ ।
त्यो वसन्त पञ्चमी, ऋषि पञ्चमी र श्रीपञ्चमी वा विवाह पञ्चमी भनेजस्तै एउटा हो नागपञ्चमी । यसको धार्मिक सांस्कृतिक खैलाबैला सुन्नु, सुनाउनु छैन कसैलाई तर यस शीर्षकअनुसार कम्तीमा एक लेख त तयार हुनुपर्छ नि ! म घोरिन्छु दिवास्वप्नमा आकृति बटुल्न र चित्रमा लेखिएका नागपञ्चमी क्यानभासमा उतार्न ।
ती दिन गए, म सानो छँदा नागको चित्र बनाउँथेँ तर सत्तेसत्ते पुराणकालीन परीक्षितको कथा चित्रकला त्यागेपछि थाहा भयो । वासुकी नागको उद्दण्डता अझ पछि बोध भयो । शेषनागको महिमा आजभोलि आफै बढेको छ विष्णुहरूको कौच अन्यत्र खोज्न पर्दैन भनिदिनु । धन्वन्तरिलाई तक्षकले डस्यो । आफूले टेक्ने गरेको लौरामा प्रवेश गरेर अर्थात मृत्युको स्वरूपमा बासुकी नाग अघि सर्छ । सर्पसत्र निम्त्याउने प्रयत्नमा अनन्तनागको नाम सुन्दा नागलोकको सम्झना हुन्छ । सर्पहरू अनन्त छन त्यहाँ । पदमनागको संरचना आफैले आफैलाई के सराउनु, म साह्रै राम्रो बनाउँथे । महापदम नागको चित्र कोर्न त्यति ध्यान दिइएन किनभने नाति को छापा छँदै थियो स्वर्गद्वारीमा । जब आउँथ्यो नागपञ्चमीको सप्ताह, खूब छापिन्थ्यो र उपयुक्त तथा उपलब्ध रङले रङग्याएर चिरिच्याँट्ट पारिन्थ्यो, खोई ती दिनहरू कहाँ गए ? रमाइला र खुसीका दिनहरू ? अर्काे एउटा नागको चर्चा हुन्थ्यो कुलीर ! तर यो नाग मैले चिन्न सकिनँ । त्यस्तै कर्कट नागको पनि चित्र बनाइएन । सजिलो र सानो ठूलो जत्रो पनि बनाउन सकिने शङखनाग हो । यी सब नागहरूको समष्टि रूप थियो अष्टनाग । छिटो, सजिलै र सहजै तयार हुने अतिप्रचलित नाग । कोही शेष, पद्मनाभ, कम्बल, शङखपाल, धार्तराष्ट्र र कालीय नाग थपेर नौ नागको अस्तित्व स्वीकार गर्दछन तर हुन यी सबै विषधर नै !
सर्पहरू रिसाहा हुन्छन, टोक्छन, डस्छन र लखेटछन भन्ने हाम्रो मानसिकता छ र व्यवहारमा त्यसो भएको पनि छ तर जीववैज्ञानिक अथवा सर्प विशेषज्ञहरू विपरीत छन । सर्पहरू मानवीय प्राणवायुको संरक्षक र प्रशोधक पनि हुन रहून परै यस्ता कुरा तर जब नाग यस संस्कृत शब्दको व्युत्पत्ति हेरिन्छ तब भन्न मन लाग्छ नास्ति आगः क्रोधः यस्येति नागः अर्थात जससँग रिसको दङसो पनि छैन, त्यही नाग हो रे ! को पत्याउला ? जब करेट, गोमन, विषखोप्रा (कोब्रा), धामिन जस्ता प्रचण्ड विषालु र पानीसर्प, चिचिन्डे आदि निर्विषालु वा कम विषालु सर्प देखिन्छन । पक्कै पनि सर्प साम्राज्य विशाल छ भन्ने निधो हुन्छ । मानव समाजमा गुरु, बाजे, मुखिया, काजी भनेजस्तै सम्मानजनक पद नै नाग भएको छ । नागराज, नागेन्द्र, नागेश्वर, नागेश, नागपति जस्ता शब्दबाट पत्तो लाग्छ नागलोक थियो र त्यहाँ नागहरू रजाइँ गर्थे । नागनागिनीका कथाले संसारभरिको किंवदन्तीको लोकसाहित्य आक्रान्त छ । तीमध्ये कुनै रिसाहा हुनु अस्वाभाविक छैन । नागको छोरामा विष र बाघको छोरामा ईख छैन भने त्यो के नाग ? त्यो के बाघ ? हामीलाई प्राप्त हुने शिक्षा यही हो अलिकति नागको झैं विष पनि हुनुपर्छ । थोरै बाघको झैं ईख पनि हुनुपर्छ । यिनै दुई शब्दका, आदि अक्षर जोडेर त इबी भन्ने तृतीय शब्दको पनि संरचना भएको छ तर सबैखाले सर्पका विद्वान भन्छन, “न जिस्क्याए सर्पले टोक्दैन किनकि यो डराउँछ, भाग्छ । यत्ति हो, यदि अन्तै कतैबाट तर्सेर, जिस्क्याइएर, रिसाएर आएको छ भने छोडदैन ।” शायद मेरो नागपञ्चमीको चित्रकला प्रसङगान्तर भयो क्यारे !
गुरुकुलमा पढदा यस्ता नाग लेखेर अरू साथीभाइहरूको कला देखेर यौटा लहड चल्यो, अरू अरू झैं म पनि गाउँगाउँमा गएर नागदेवका चित्रलिपि गाउँलेहरूका ढोकाढोकामा टाँसूँ र उनीहरूका जीवनमा नागदेव वा समस्त नागवर्गलगायत कीट-पत· आदि सबै खतराबाट मुक्ति दिलाऊँ ? नजाने यो कला ठिक थियो कि बेठिक ? बिहानैदेखि बेतोड पानी परिरहेछ ! एकजना भोम्ले उपनाम गरेको साथी बनाएको थिएँ । निकै तल पुगेपछि एउटा गाउँ भेटिन्छ । हामी गोठको गोबरले डोकामा चढेर ढोकामाथि नाग टाँस्छौँ र घरधनीले दिएको एकदुई पैसा र फलफूल यति प्रेमपूर्वक बोक्छौँ कि लाग्छ हाम्रा आर्थिक अवस्थाको सुदृढीकरण आजैदेखि श्रीगणेश भयो ! हामी यति फुर्किएका हुन्छौँ कि जमिनभन्दा एकबित्ता माथिमाथि नै हिंडिरहेका छौँ । यस्तै फुक्र्याइसँगै अर्काे घरमा के पुग्न लागेका थियौँ, यमराजको बाहनले शब्दबाण छोडदाछोडदै साथीको घुँडीखोक्रामा दाँत गाडि हालेछ । घरभेटी बाहिर निस्केर सिस्नाको जरो र तामाको पैसा घोटेर मलम लगाइदिए । नाग टाँसेर हामी बिदावादी भयौँ, आज पनि यस घटनाले आफूलाई झक्झक्याइरहेछ तर भोम्ले मेरो मित नारायण पोख्रेल कहाँ छ, यो अज्ञात नै छ ।
नाग किन टाँस्नुपर्छ बाजे ? यौटा जजमान सोध्छ । उसलाई यो सांस्कृतिक पर्व मनाउने हो भनेर मात्र पुग्दैन । त्यसैले भन्नुपर्छ, “घरमा बज्र पर्दैन, सर्प, छेपारा, आदि किराकाँटी पस्दैनन, गोजर, डाँस, माउसुली, बिच्छी र विषालु कीरा फटयाङग्राले आक्रमण गर्दैनन । अगस्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी जस्ता अत्यन्त पराक्रमी, पौराणिक र तान्त्रिक ऋषिहरू मिलेर बसेका घरमा नाग टाँसेको भए त्यस घरमा बज्र पर्न दिँदैनन ।” यो पनि उसलाई अलि कठिन पो लाग्यो कि ! गरुड सर्पका जन्मजात शत्रु हुन रे ! अगस्ति, माधव, मुचुकुन्द, कपिल र आस्तीक जस्ता गारुड व्यक्तिको सम्झना मात्र गरे पनि सर्पभय रहँदैन भन्ने कस्तो ठोकुवा नागशास्त्रविज्ञले गरेका हुन ?
आज नागका विषयमा देखिने मेरो कला हराएको छ । बनारस र वरपरका छापाखानाले कति व्यापकता ल्याइदिएका छन भने घरघरमा टाँसिने रङगीन नागहरूका अनेक चित्र सरल र सहजै उपलब्ध गराइदिएका छन । अब कसैले पनि नागको चित्र कोर्दैन । मैले आफूलाई त्यतिबेलादेखि नागचित्रमा रत्याउन सकेको भए यति बेला म चित्रकारकलाकार नकहलाइछोडने थिइनँ । मलाई दिवाशयन पछि प्राप्त नागपञ्चमी बिम्बको उत्ताल तर· हराउन गएको र लेखको आरम्भ पाँच घण्टापछि गरे पनि विस्तार र समापन चार दिनमा गर्नुपरेकाले आफैलाई चित्त नबुनु स्वाभाविकै छ भने पाठकले यसबाट रमाउनु भनेको आकाशकै फल खानु सरह हो तर अब यस्ता सिङ न पुच्छरका कुरा गरेर नागमहिमा नगाई प्रतिवर्ष नागपञ्चमीको सांस्कृतिक आगमनलाई हर्षाेल्लासपूर्वक स्वागत गर्न प्रतीक्षारत हुनु उपयुक्त हुन्छ जस्तो लाग्छ ।
लेखक:- नारायण प्रशाद खनाल।
No comments:
Post a Comment