Monday, 17 August 2020

3G Cutting प्रविधि: के हो र कसरी गर्ने?


3G Cutting प्रविधि:

पछिल्लो समयमा कृषिजन्य उत्पादन बढाउने उद्देश्यले विभिन्न प्रकारका हानिकारक विषादीको जथाभावी प्रयोगले गर्दा बिरुवामा परागसेचन को कमी हुँदै आएको पाइन्छ| जसले गर्दा लहरेबाली लगायत अन्य बालीमा परागसेचन को कमी हुन आई कम मात्रामा फल लाग्ने तथा लागेका फलहरु पनि कुहिएर झर्ने समस्या देखा परेको पाइन्छ| यसका साथै किसानहरुले उत्पादन गर्दैआएका विभिन्न तरकारी बालीमा एकदमै कम मात्रामा फल लाग्ने अथवा सयौं भाले फूल आइसकेपछि मात्रै पोथी फूल आउन सुरु गर्ने हुँदा किसानले सोचेजति उत्पादन नआउने हुँदा उत्पादन घट्न गई कम मात्रामा आम्दानी लिएको पाइन्छ| यस्तो अवस्थामा 3G cutting प्रविधि अपनाइ बिरुवामा आउने पोथी फूलको संख्यामा वृद्धि गरी आम्दानी बढाउन सकिन्छ|

के हो त 3G CUTTING प्रविधि ?

3G cutting एउटा यस्तो प्रविधि हो जसको प्रयोग गरी एउटै बिरुवाबाट परम्परागत तरिका बाट भन्दा 10 गुणासम्म उत्पादन बढाउन सकिन्छ | 3G cutting विशेषगरी Cucurbitaceous परिवार अन्तर्गत पर्ने बालीहरूमा गर्ने गरिन्छ| यस विधिमा बिरुवामा त्यस्तो तरिकाले काँटछाँट गरिन्छ कि जसले गर्दा बिरुवामा अाउने भाले र पोथी फूल को अनुपातमा सन्तुलन ल्याउन मद्दत गर्दछ| विशेषगरी लौका करेला जस्ता लहरे तरकारी बाली हरुमा 14:1 को अनुपातमा भाले तथा पोथी फूलको विकास हुने गर्दछ अथवा 14 वटा भाले फूल आइसकेपछि मात्रै एउटा पोथी फूलको विकास हुने गर्दछ, जुन पोथी फूल बाट मात्रै हामीले उत्पादन लिन सक्दछौं| तर विरुवालाई चाहिने पर्याप्त परागसेचनका लागि दुईवटै भाले तथा पोथी फूलको उत्तिकै महत्व हुने गर्दछ|

3G CUTTING नै किन?

फल लाग्ने सबैखाले बालीहरूमा पर्याप्त परागसेचनका लागि भाले र पोथी दुवै फूलको आवश्यकता पर्दछ जसलाई हामी सामान्य भाषामा परागसेचन गर्ने भन्दछौं| निर्वाहमुखी होस् या व्यवसायिक रुपमा लहरे तरकारी बालीको खेती गर्दा हामीलाई आवश्यक पर्ने वा चाहिने भनेको पोथी फूल नै हो त्यसकारण त्यस्तो प्रकारको पोथी फुल को संख्या 3G( तेस्रो पुस्ता) देखि मात्रै बढी आउने भएका कारण मुख्यतया पोथी फूलको संख्या बढाई उत्पादनमा वृद्धि ल्याउनको लागि 3G cutting गर्ने गरिन्छ|
3G cutting गरिसकेपछि लहरे तरकारी बालीमा भाले तथा पोथी फूलको अनुपातमा आउने फरक :
3G cutting गर्नुअघि – भाले: पोथी =14:1
3G cutting गरेपछि – भाले: पोथी = 1:1
यसरी 3G cutting गर्दा पोथी फूल को संख्यामा वृद्धि आउनुका साथै थोरै मात्रामा भएको भाले फूल नै परागसेचन को लागि पर्याप्त हुने गर्दछ|

कुन-कुन बालीमा गर्न सकिन्छ त 3G CUTTING?

घिरौंला, लौका , काँक्रो, फर्सी, चिचिन्डा, टमाटर, अंगुर, खुर्सानी, भान्टा आदि|

कसरी गर्ने?

सर्वप्रथम विरुवाको फेदैदेखि पाँचवटा पातको विकास हुँदासम्म बिरुवामा कुनै पनि प्रकारको side ब्रान्च आउन नदिने किनभने त्यो अवस्थामा कुनै प्रकारको पोथी फूलको विकास हुँदैन| जब बिरुवाको उचाइ 7-8 ft को हुन्छ तब लौका, घिरौला, चिचिन्डा, जस्ता लहरेबाली मा विरुवाको टुप्पो काटिदिने| यसरी मुख्य हाँगाको माथिको भाग काट्दा त्यसको साइडबाट थुप्रै हाँगा हरूको विकास हुन्छ, र उक्त साइडबाट आएको हाँगामा 10 देखि 12 पातको विकास भइसकेपछि फेरि दोस्रोपटक उक्त हांगा को टुप्पा काटिदिन| अब दोस्रोपटक आएका हाँगाहरु को टुप्पा हटाउँदा फेरि तेस्रो पटक उक्त हागा हरुमा नयाँ पालुवाहरु को वृद्धि विकास भई तेस्रो पुस्तादेखि पोथी फूल को संख्यामा वृद्धि हुनेगर्दछ| यसोगर्दा भाले तथा पोथी फूल को अनुपातमा सन्तुलन हुन आउँछ (50% male flower+50% female flower)| काँक्रा फर्सि जस्ता बालीमा यो प्रक्रिया गर्दा बिरुवा 5-6 ft को हुँदा गर्ने गरिन्छ भने खुर्सानी टमाटर जस्ता बालीमा विरुवा 1-3 ft को हुँदा गर्नुपर्दछ|

3G CUTTING गर्दा हुने फाइदाहरु के-के हुन त ?

  1. सानो क्षेत्रफलबाट पनि धेरै उत्पादन लिन सकिन्छ|
  2. पोथी फूलको संख्या बढाउन तथा फल झर्ने समस्याबाट बचाउन सकिन्छ|
  3. उही क्षेत्रफलमा लगाइएको जमिनबाट 5 देखि 10 गुणासम्म उत्पादनमा वृद्धि गर्न सकिन्छ|
  4. विशेष हेरचाह का साथै समयसमयमा काँटछाँट गरिने भएकाले बिरुवाले प्रशस्त मात्रामा प्रकाश पाइ एउटै बिरुवाबाट लामो समयसम्म उत्पादन लिन सकिन्छ तर यो प्रविधिको अपनाउँदा सामान्य अवस्थाभन्दा केही समय ढिलागरी उत्पादन दिन सुरु हुनसक्दछ|





===="कृषि बिकाश , प्रबिधि र उधम का लागि सहकार्य" बाट साभार।======

No comments:

Post a Comment