Wednesday, 30 November 2016

जन्म महिना अनुसार मानिसहरुको स्वाभाव।

बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।
जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धनसहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।
आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ। कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।
साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ। यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।
भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।
असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।
कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँगपनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।
मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।
पुष : पुष महिनामा जन्मेका महिलाहरूसामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने,वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।
माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।
फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेजहुन्छन् ।
चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

सुरक्षित घरको लागि सुझावहरु।


 भुइँचालोलाई हामी रोक्न–छेक्न सक्दैनौं। आफू सुरक्षित बनेर यसबाट जोगिन मात्र सक्छौं। सरकारले दस वर्षअघि नै भवन संहिता (बिल्डिङ कोड) लागू गरेको थियो। त्यसमा अद्यावधिक गरी उपत्यकाका सबै र बाहिरका केही नगरपालिकाले पालना गरेका पनि छन्।व्यवहारमा भने सन्तोषजनक पालना भएको छैन। भवन ऐन २०५३ को आत्माअनुसार बनेको संहितामा शहरमा बन्ने अत्याधुनिक बहुतले भवनदेखि गाउँठाँउका सामान्य घरसम्म सुरक्षित बनाउने विधि उल्लेख छ।पहिलो कोटीमा अन्तर्राष्ट्रिय स्तरको भवन राखिएको छ। नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई यो वर्गमा राख्न सकिन्छ। यस्ता भवन नेपालमा विरलै बन्ने गरेका छन्।दोस्रो दर्जामा सामूहिक बसोबास गराउने वा कार्यालय प्रयोजनका लागि बन्ने बहुतले भवन छन्। तेस्रोमा तीन तलाभन्दा बढी वा हजार वर्ग फिटभन्दा बढी क्षेत्रफलको तीन तले सम्मको घर छ। चौथोमा हजार वर्ग फिटभन्दा साना छन्।काठमाडौं लगायत सहरबजारमा केही आना जग्गा लिएर पछिल्ला दुई थरीका घर बनाउने गरिएको छ। हजार वर्गफिट भन्दा बढीको तेस्रो कोटीको घर बनाउँदा इन्जिनियरको सुपरिवेक्षण अनिवार्य छ। जत्रो आकार प्रकारको घर बनाउँदा पनि नगरपालिकामा नक्सा पास गर्नुपर्छ। मुलुकका दर्जनौं नगरोन्मुख गाउँमा पनि नक्सा पास गरेर मात्र जग हाल्न पाउने नियम छ। नक्सा पास गर्नुपर्ने नियम लगभग पालना भएको छ।काठमाडौं, ललितपुर, भक्तपुर, धरान, पोखराजस्ता नगरपालिकामा संरचनागत ढाँचा (स्ट्रक्चरल डिजाइन) नक्सासँगै पेस गर्नुपर्छ। लाखौं महानगर र उपमहानगर बासीलाई सुरक्षित बनाउन स्ट्रक्चरल डिजाइन अनिवार्य गरिएको हो।अधिकांश संख्यामा बनिरहेका मझौला र साना भवनले नगरपालिकामा दर्ता गरेर औपचारिकता पुर्यारए पनि निर्माणका क्रममा त्यसको पालना गरेको देखिँदैन।स्ट्रक्चरल डिजाइनमा जग, पिलर, बिम, ढलान, गारोदेखि झ्यालढोका सम्ममा प्रयोग गर्ने डन्डी, सिमेन्ट, बालुवा, गिट्टी, इँटाको मात्राबारे उल्लेख हुन्छ। घर बनाउँदा पालना गर्नुपर्ने नक्सासमेत डिजाइन गरेर नगरपालिकाबाट स्वीकृति लिइएको हुन्छ।नगरपालिकामा पेस गरेअनुसारै घर बनाउन इन्जिनियरको अनुगमन अनिवार्य हुन्छ। हामीले उत्साहसाथ ल्याएको नियम पालनाभने खुसी हुनुपर्ने खालको छैन। सहरी विकास तथा भवन निर्माण विभागले पटक–पटक गर्ने अध्ययन अनुसार नगर क्षेत्रमा बन्ने ९० प्रतिशत घरमा प्राविधिक अनुगमन हुने गरिएको छ। करोड रुपैयाँ सम्म खर्च गरिने त्यस्ता घरमा डकर्मीको सल्लाहमा घरबेटीले मनखुसी निर्णय लिने गरेको देखिन्छ। भवनसंहिता पालना गराउने कर्तव्य नगरपालिकाको पनि हो। उसले यसलाई प्राथमिकतामा राख्न सकेको छैन।इन्जिनियर राख्नुलाई घरबेटीले झन्झट र फुर्मास ठान्छन्। घर बनाउँदा प्राविधिक सल्लाह अत्यावश्यक छ भन्नेतथ्य सरकार र नगरपालिकाले घरबेटीलाई बुझाउन सकेका छैनन्। यस्ता मझौला र साना घर बनाउने व्यक्तिले वर्षौंको कमाइले एउटा घर बनाउँछन्। आफ्नो केही लाख साँवामा ब्याजमा ऋण काढेर तल्ला उठाउनेको संख्या धेरै छ। अवकाश जीवनमा पनि उनीहरू ऋण तिरिरहेका हुन्छन्।
जीवन भरिको रगत पसिना सिंचेर घर बनाउँदा किन प्राविधिक सल्लाह र सुझाव अनिवार्य छ त? लम्बाइ, चौडाइ, उचाइको अनुपात:-
 घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउनुपर्छ। थोरै जग्गामा आकाश छुने घर बनायो भने भुइँचालोको सानो झट्काले पनि गर्ल्यामगुर्लुम हुनसक्छ।विशेषगरी उपत्यकाका भित्री सहरमा आधा/एक आना जग्गामा ७/८ तले घर बनेको देखिन्छ। त्यो शतप्रतिशत असुरक्षित तासको घर हो। मापदण्ड अनुसार कहीँ पनि घरको चौडाइको साढे दुई गुणाभन्दा ठूलो घर बनाउन पाइन्न। यो नियम अनुसार जतिसुकै बलियो संरचना बनाए पनि १२ फिटचौडाइ जग्गा छ भने तीनतलेभन्दा ठूलो बनाउनु धरापै हुन्छ। नगरपालिकाले यो बन्देज लगाएको भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।निकास आवश्यक भुइँचालो मात्र हैन, आगलागी, करेन्ट सट हुँदा वा अरू विपत्ति आइलाग्दा जोगिन घरबाट बाहिर निस्कने उचित प्रबन्ध आवश्यक छ। घरमा कम्तीमा दुईवटा मूलढोका हुनुपर्छ। त्यहाँसम्म पुग्ने बाटो फराकिलो र सुरक्षित हुन जरुरी छ। भर्याुङ जहिल्यै फराकिलो र बलियो बनाउनुपर्छ।ठूला व्यापारिक भवन, अपार्टमेन्ट, स्कुल, कलेज, अस्पताल जस्ता सार्वजनिक भवनमा एउटा भर्याङले पुग्दैन। भवनको बाहिरबाट सिरान पुछार एउटा भर्यााङ राख्न मापदण्डले अनिवार्य गरेको छ। अभर परेको बेला भाग्न मात्र हैन, उद्धार कार्यमा समेत सजिलो होस् भनेर बाहिरबाट भर्यारङ राखिएको हुन्छ। सिंहदरबारमा नयाँ बनेका भवनमा यस्तो भर्या ङ देखिन्छ। तर निजी क्षेत्रका धेरैजसो कम्प्लेक्सले केही लाखको लोभगरेर बाहिरबाट भर्याभङ राखेका छैनन्।
जग सबै भन्दा महत्वपूर्ण:-
जग बलियो हुनुपर्छ भन्ने विषयको ज्ञान सबैलाई छ तर कस्तो जग बलियो भन्ने विषय असाध्यै जटिल छ। पिलर सिस्टमको घरमा कति गहिरो जग जाने? हात्तीपाइले (पिलरको जग) कत्रो बनाउने? डन्डी कसरी बाँध्नेजस्ता निर्णय असाध्यै जटिल छ। हचुवाको भरमा गहिराइ, लम्बाइ, चौडाइबारे भन्न सकिन्न।जग खन्दा भेटिने माटोको प्रकार, घरको तल्ला, पिलरको आकार, लम्बाइ, चौडाइको आधारमा गहिराइ निर्धारण हुन्छ। घरको प्रयोजन के हो त्यसलाई पनि ध्यान दिनुपर्छ। उत्रै आकारप्रकारको आवासीय घर र विद्यालय भवनको जगको गहिराइ तथा अरू सामान भिन्न हुन्छ।                             आवासीय प्रयोजनका लागि बनाइने दुईतलेघरको जग माटोको प्रकार अनुसार ३ देखि ५ फिटसम्म भए पुग्छ।पिलर सिस्टमको घरको जग हात्तीपाइले हो। डन्डीको जाली बुनेर ढलाइ गरेर हात्तीपाइले बनाइन्छ। हात्तीपाइलेको लेभल जहिले पनि एक सय असी डिग्रीमै हुनु आवश्यक छ।
पिलर र बिम कस्तो?
पिलर गाउँघरको थामजस्तै हो। थाम सबैभन्दा बलियो हुन्छ। आधुनिक घरमा पनि यही नियम लाग्छ।हात्तीपाइलेमा अड्याएर पिलर ठडाइन्छ। मानिसको शरीरको मांसपेशीलाई हड्डीले थामेजस्तै घरको सबै बोझ पिलरले बोक्छ। त्यसैले पिलर सधैं घन्टी (नब्बे डिग्री) मा ठडिनुपर्छ। घरको मजबुतीको आधार पिलर हो। पिलरको साइज पनि घरको तलामै भर पर्छ। सामान्य घरमा पनि कम्तीमा ९ इन्च चौडाइ र १४ इन्च लम्बाइको पिलर चाहिन्छ। ती पिलरमा पाँच लाइन र चार लाइनको गरेर ८ वटा डन्डी राख्नुपर्छ। डन्डीमा कहिल्यै कञ्जुस्याइँ गर्नुहुन्न।डन्डीमा लोभ नगरे पनि बाँध्ने तरिका मिलेन भने सबै खर्च व्यर्थ हुन्छ। पिलरको डन्डी बाँधेर आकार दिन चुरी (रिंग) चाहिन्छ। चुरीमा दुई लाइनको डन्डी प्रयोग गर्ने चलन छ। चुरीले घरलाई धक्का परेको बेला पिलरलाई जोगाएर राख्छ। त्यसैले चुरी बनाउने र बाँध्ने तरिका ठ्याक्कै मिल्नुपर्छ। चुरीको दुरी ४ देखि ६ इन्चभन्दा बढी हुनु हुँदैन।पिलरको उचाइ आठदेखि नौ फिट हुन्छ। यसमा एकैपटकमा ढलान गर्ने चलन छ। आवासीय भवनमा सबैले यही गल्ती गरिरहेका छन्। पिलरलाई आधा गरेर दुईपटक ढलान गर्नु आवश्यक छ।एकपटकमा ढलान गर्दा डन्डी नब्बे डिग्रीमा नबसेर बीचमा थोरै बांगिन सक्छ। अर्को नौ फिटमाथिबाट मसला खसाल्दा रोडामात्र पहिला हाम फाल्छ। यसले मुनिको केही फिटमा रोडाको मात्रा बालुवा–सिमेन्टभन्दा कम हुन सक्छ। पिलर कमजेार भए घर जोखिमपूर्ण हुने भएकाले एकपटकमा ५ फिट उचाइ मात्रढलान गर्न सके मजबुतीको अचुक उपचार हुन्छ।बिमले पुराना घरमा निदालको काम गर्छ। पिलरमाथि बसेर ढलान थाम्छ। बिमको आकार पिलरभन्दा केही कम हुँदा पनि फरकपर्दैन। यसमा पनि डन्डी बाँध्ने तरिका मिलाउनुपर्छ। दुइटा पिलरको छेउछाउमा डन्डीको टुक्रा थपेर बिमलाईबलियो पार्नैपर्छ। चुरी बाँध्ने तरिका पिलरजस्तै हो।पिलर र बिममा डन्डी गाँस्दा ध्यान पुर्यायउनुपर्छ। डन्डीको मोटाइ र पिलर/बिमको लम्बाइअनुसार खप्टिने भाग(ओभरल्याप) निर्धारित हुन्छ। कम्तीमा साढे दुई फिट खप्टाउनु अनिवार्य छ। पिलर वा बिममा धेरै डन्डी हुन्छन्। ती डन्डी काट्ने बेला अलगअलग लम्बाइको बनाउनु जरुरी छ। त्यसो नगरे एकै ठाउँमा गाँस पर्छ। यस्तो गल्ती भयो भने घरमा कुनै बोझ वा धक्का पर्दा गाँसिएकै ठाउँबाट क्षति हुन्छ।ढलान अढाइ लाइनको डन्डीसिमेन्टको घर बनाउँदा ढलानलाई सर्वाधिक महत्व दिने चलन छ। ढलान सकेर भोज खाने/खुवाउने चलन बसेको छ त्यसैले होला! ढलान गाउँले घरमा तला छापेजस्तैहो। थाम, निदाल मात्र बलियो हालेर हुँदैन, दलिन पनि भरपर्दो हुनुपर्छ भन्ने हाम्रा पुर्खाले उहिल्यै जानेका थिए। दलिन हालेपछि दाउरा, बाँस,माटो वा काठ जेले पनि छाप्न सकिन्छ।आजभोलिका घरमा दलिनको काम डन्डीले गर्छ। सिमेन्ट, रोडा र बालुवा मिसाएकोकँक्रिटले तला छापिन्छ। ढलान बलियो बनाउन डन्डीको जाली बाँधेको मिल्नुपर्छ। डन्डीको जाली ६ इन्चमा बाँध्नु राम्रो हुन्छ। बिमको नजिक र टपमा ‘डबल' जाली बुन्नुपर्छ।पिलर र बिममा कम डन्डी हाल्ने, अर्कातिर ढलानमा चाहिनेभन्दा बढी छाप्ने चलन छ। सामान्य घरमा अढाइ लाइनको डन्डी भए पुग्छ। यसको ज्ञान नभएर चार लाइन सम्मको डन्डी हाल्ने गरेको देखिन्छ। यस्तो गल्तीले घर बोझिलो त हुन्छ नै, खर्च पनि दोब्बर हुन्छ।पिलर र बिममा नारी जत्तिको मोटो डन्डी प्रयोग गरिने ठूला भवनमा समेत ढलानमा अढाइ र तीन लाइनको डन्डी हाले पुग्छ। आवासीय भवनमा ढलानको मोटाइ सामान्यतया ५ इन्च भए पुग्छ। ढलानको मसला हाल्ने बेला जाली भन्दा माथि हाल्नुपर्छ। जाली धेरै माथि पारेर मसला तल हाल्यो भने ढलान कच्चा हुन्छ।यस्तो गल्तीले भुइँचालो आएको बेला वा कोठामा धेरै भीड भएको बेला जालीलाई छाडेर ढलान खस्ने डर हुन्छ। ढलानको जाली फर्माभन्दा एक इन्च माथि उठाए पुग्छ। जालीले ढलानलाई बोक्ने हो, झुन्ड्याउने होइन।
कँक्रिट बनाउने विधि:-
      पिलर, बिम वा स्ल्यापमा कँक्रिटको प्रयोग गरिन्छ। पिलर, बिम र ढलानको बनोट दुरुस्त बनाएर इन्जिनियरले तोकेअनुसारकै डन्डी हाल्दैमा घर बलियो हुँदैन। कँक्रिटको प्रयोग उपयुक्त हुनुपर्छ। पिलर, बिम वा स्ल्याप ढलान गर्न आवश्यक सिमेन्ट, बालुवा, गिट्टी र पानीको सम्मिश्रण कँक्रिट हो।कँक्रिट बनाउने आफ्नै विधि छ। सामान्य घरमा एम १५ कँक्रिट तयार गरे हुन्छ। त्यसमा १ बोरा सिमेन्ट बराबर २बोरा बालुवा र ४ बोरा गिट्टी हालिन्छ।योभन्दा ठूलो निर्माणमा एम २० र पुल, बाँध निर्माण गर्दा एम २५ प्रयोग गरिन्छ। एम २० मा १ सिमेन्टबराबर २ बालुवा र ३ गिट्टी हुन्छ। धेरै बोझ थाम्नुपर्ने निर्माणमा १ सिमेन्ट बराबर डेढ बालुवा र ३ गिट्टी मिसाइन्छ।यतिविघ्न सामग्री जुटाइ सकेपछि पनि घोल्ने तरिकामा गल्ती भइरहेको छ। सिमेन्ट, बालुवा र गिट्टीको आयतनका आधारमा अनुपात मिलाउने चलन सर्वथा गलत छ। त्यसलाई तुरुन्त सच्याएर घनत्व अनुसार हुनुपर्छ। चारकोठे घर बनाउनेले पनि एक–एक बोरा बालुवा र गिट्टीको पनि वजन लिएर अनुपात मिलाउन सक्छन्। तर यो ज्ञान ज्यादै कमलाई छ। यी सामग्रीको मिसावट ठिक ढंगले गर्न मिक्स्चरबाट घोल्नुपर्छ।कँक्रिटका लागि आवश्यक हरेक सामग्रीको गुणस्तर मापदण्ड अनुसार हुनुपर्छ। सिमेन्टमा गुणस्तर चिह्न र सिल ख्याल गर्नुपर्छ। बालुवामा माटो वा अभ्रख मिसिएको हुनु हुँदैन, दानेदार चाहिन्छ। गिट्टी साह्रो ढुंगाको हुनुपर्छ। नरम, बलौटे वा रातोठिक हुँदैन। गिट्टी सानोठूलो चाहिन्छ, ४ देखि ६ लाइनको। सानो गिट्टीले ठूलोले बनाउने खाली ठाउँ भरिन्छ।पानीको गुणस्तर पनि ज्यादै महत्वपूर्ण हुन्छ। ढलको पानी हाल्न मिल्दैन। आइरन अधिक भएको पानी पनि कँक्रिटमा प्रयोग गर्नु हुँदैन। कँक्रिटलाई बलियो बनाउन तापक्रमको पनि उत्तिकै महत्व हुन्छ। अत्यधिक चिसो वा गर्मीमा ढलान गर्दा बलियो हुँदैन, खति मात्र हुन्छ। १० देखि ३० डिग्री तामक्रम असाध्यै राम्रो। माइनस ३ वा ४० डिग्रीभन्दा बढीमा कँक्रिटको काम गर्नु हुँदैन। धेरै गर्मीमा कँक्रिटको सबै पानी चाँडो सोसिन्छ। कम तापक्रम भयो भने चिसोले ढलान जम्न सक्दैन।
गारो:-
    ढलान सकेर डकर्मीले पिलर सिस्टमको घरमा गारो बलियो चाहिँदैन भन्ने विश्वास घर बनाइरहेकालाई दिलाएका छन्। सबै घर पिलरले बोकिहाल्छ, गारोले बारको काम मात्र गर्ने हो भन्ने जिकिर धेरैको छ।यो सरासर गलत धारणा हो। घरको बोझ पिलरले बोक्दैमा दुर्घटना नहुने हैन।गारो कमजोर भयो भने त्यसैले थिचेर जनधनको क्षति हुन्छ। पिलरसँगै गारो उठाएर ढलानले थिच्ने काम सरासर गलत हो। यसले पिलर सिस्टम बिथोल्छ।घरको स्ट्रक्चरको काम सकिएपछि मात्र गारो लगाउनुपर्छ। ढलान गरेको दुईचार दिनमै गारो लगाउन बिम, पिलर कमजोर हुन्छ।कँक्रिट जम्न २२ दिन लाग्ने भएकाले त्यति कुरेर मात्र गारो लगाउनुपर्छ। ढलान भैसके पछि गारो लगाउँदा सुरक्षित हुन्छ। यसका लागि तरिका पुर्याउनु पर्छ। गारो कुनै हालतमा ४ इन्च लगाउनु हुँदैन। ९ इन्च आवश्यक छ। गारो लगाउँदा ठाउँठाउँमा दुई लाइनको डन्डी ठाडो र तेस्रो राख्नआवश्यक छ। झ्यालको तल र माथि लिन्टन ढलान गर्नुपर्छ। त्यसैलाई लम्बाएर कोठालाई सानो खालको टाइजस्तो बनाएन भने घर झन् कमजोर भयो। तराईमा टाइको चलन चलिसकेको छ। झ्यालमुनि पनि त्यसैगरी लिन्टन कस्नु जरुरी छ।गारो र प्लास्टरको मसला गारो बलियो बनाउन मसला (सिमेन्ट र बालुवा) मुछेको तरिका मिल्नुपर्छ। गारोका लागि १ बोरा सिमेन्टबराबर ५ बोरा बालुवा हाले हुन्छ। जबकि प्लास्टरमा बालुवा घटाउनुपर्छ। सिलिङमा तीन बोरा र दायाँबायाँ ४ बोराबालुवाको मसला बनाउनु उपयुक्त हुन्छ।यी सबै तालमेल मिलाउन घर बनाउँदा इन्जिनियरको परामर्श अपरिहार्य छ। पिलर सिस्टममा बनेको सामान्य आकारको कँक्रिटको घरको वजन पनि सयौं टन हुन्छ। यति बोझिलो घर ढंग नपुर्यािई बनायो भने जोखिमपूर्ण हुन्छ। उपयुक्तप्रविधि र प्राविधिकबिना बनाएको घरमा सानो त्रुटि भयो भने ठूलो नोक्सानी हुन्छ। त्यसैले, सही विधि अपनाउन सकिन्न भने तीन तला सम्मको घर इँटाढुंगाकै भर (लोड बियरिङ सिस्टम) को बनाउन सकिन्छ। यसमा घरभरिको भार प्रत्येक इँटा वा ढुंगाले बोक्छन्।

नेपालका नेवारहरु।

-अशोकचन्द्र धुँजू श्रेष्ठ ।
नेपाल एशियाको माझमा हिमालयको काखमा विशाल चीन र भारतको बीचमा रहेको एक भूपरिवेष्ठित मुलुक हो । यो परापूर्वकालदेखि अस्तित्वमा रहेको एक प्राचीन मुलुक हो । अनेक जातजाति, भाषाभाषी र विविध धर्मावलम्बीहरुले निवास गरेको र उत्तर दक्षिण, पूर्वपश्चिमका बीच प्राचीनकालदेखि आवतजावत र लेनदेन चल्दै आएकोले ‘नेपाल’ शब्दको विभिन्न अर्थ विभिन्न धार्मिक दृष्टिले आ-आफ्ना खालको व्याख्या र व्युत्पत्ति बारे अनेक मत मतान्तर देखिएका छन् । नेपाल शब्दलाई विद्वान्हरुले विशेषतः तिब्बती, नेवारी, लिम्बु, लेप्चा भाषाहरुको आधारमा अर्थ्याउँदै आएका छन् ।
नेवारी भाषामा नेपाललाई ‘नेपा’ भन्ने गरिन्छ । ‘ने’ को अर्थ ‘मध्य’ र ‘पा’को अर्थ ‘देश’ हुन्छ । हिमाली श्रृंखलाको मध्य भागमा रहेको देश भएकोले यो देशको नाम नेपाल भन्ने प्रचलन भएको हो भन्ने भनाई छ । ‘नेपाः’ शब्दमा ‘ल’ प्रत्यय थपिएर नेपाल हुन गएको हो । टामस यङ्गले र जार्ज ग्रियर्सकनको भनाई अनुसार नेवार र तामाङको रक्त मिश्रणबाट ‘न्यार्वा’ भन्ने जाति बनेको र त्यही न्यार्वा शब्दबाट नेवार बनेको अनि नेवारबाट नेपाल बनेको हो । ८०० वर्ष पुरानो एक रचनामा नेपालवासीलाई गिवाल (नेवार) भनिएको हो । यस अनुसार नेपालबाट नैपाल, णिवाक, निवार भई नेवार शब्द जन्मेको अर्को तर्क पनि छ ।
काठमाडौं खाल्डोमा मंगोलियाको गोबी नमूनाको ढुंगे उपकरण फेला परेबाट पाषाण युगका मंगोलहरु तिब्बत र हिमालय पार गरी नेपाल आइपुगेको र ईसाई पूर्व ३० हजार वर्षभन्दा पहिलेदेखि नै मंगोलहरु काठमाडौं उपत्यकामा आवाद भएको अनुमान पुरातत्व र मानवशास्त्री जनकलाल शर्माले गर्नुभएको छ । यस अर्थले नेपालमा प्राथमिक रुपमा मंगोल मूलका विभिन्न प्रजातिहरुको सभ्यता थियो । नेवार पनि ती सभ्यतामध्ये एक मूल सभ्यता हो । यो हिन्दू आर्यहरु नेपाल प्रवेश गर्नुभन्दा धेरै पहिले हिमालय फेदमा विकसित भइसकेको थियो । पछि नेपाल खाल्डोमा लिच्छवी अनि विभिन्न समयमा अन्य हिन्दु आर्यहरु प्रवेश गरी नेवारहरुसँग घुलमिल हुँदै नेवार समाजलाई हिन्दूकरण, संस्कृतिकरण, मैथिलीकरण समेत गरेको देखिन्छ । यो खाल्डोमा बाहिरबाट आउनेले राज्य गर्यो र नयाँ संस्कृति ल्यायो । तर खाल्डो पसेपछि त्यो नेवारी सभ्यताकै अंग बन्यो ।
बाहिरबाट आउनेहरुको घुलमिलले गर्दा नेवार जाति एक जाति नभई विभिन्न जातिको एक समूह बनेको हो । गैर नेवार हेर्दाले नेवारजाति एउटै जस्तो लाग्दछ । त्यस्तै एउटै भाषा, एउटै धर्म र एउटै संस्कृति जस्तो लाग्दछ होला तर त्यस्ते होइन । हाइमनड्रफका (१९६०) का अनुसार यो भित्र २६ प्रकारका जातिहरु भित्रिएका छन् । भाषाको बोली ठाउँ अनुसार फरक देखिएको छ ।
धर्मको कुरामा नेवारहरु शैव, हिन्दू र बौद्ध आधा हुनसक्छ । त्यस्तै संस्कृति र संस्कारमा जाति अनुसार केही फरक हुन सक्छ । नेवारमा विभिन्न जातिको भाषा एउटै भए पनि जाति अनुसार धर्म र संस्कृति केही फरक हुनसक्दछ । त्यसो भएता पनि सबै जातिमा समन्वय र सहिष्णुता हुन्छ । यसको ज्वलन्त उदाहरण हो विभिन्न जातिले संयुक्त रुपमा मानी आएको विभिन्न जात्राहरु । त्यस्तै नेवार समुदाय एउटा विभिन्न जातिको समूह भएकोले आ आफ्ना फरक पहिचान र संस्कृतिहरु छन् ।
नेवार एउटा सुसंस्कृत सभ्य र उन्नत समुदाय हो । चाडपर्व मनाउनेदेखि रीतिथिती र संस्कार संस्कृतिमा आफ्नै अनुसारको मौलिकता छ । तर आधुनिकता र पाश्चात्य संस्कृतिको प्रभावले कतिको जाति विशेषको आफ्नो मौलिक पहिचान र संस्कृति छोडिँदै आएको छ ।
काठमाडौं उपत्यकामा नेवारहरु धेरै भएकोले र नेवारहरु भएको ठाउँमा नेवारहरुको संस्कृतिसँग जोडिएका चाडपर्वहरु मानि आउनु स्वभाविक हो । ती चाडपर्वहरु ऋतुको भरमा मानी आएका छन् । बौयागु ख्वाः स्वय्गु, मांयागु ख्वाः स्वय्गु, देगुपूजा, गुँ पुन्ही, यँन्यापून्ही, चथाः, मोहनी, स्वन्ति, म्हःपूजा, पाहाँचह्रे, योमरी पुन्ही आदि नेवारहरुको मानी आएका चाडपर्वहरु हुन् । स्थानीय जात्राहरु पनि छन् । नेवार समाजमा विभिन्न नश्ल, धर्म, संस्कृति र परम्पराहरुको संयोजन छ । यसर्थ नेवार जाति होइन, राष्ट्रियता हो भनी इतिहासकार डिल्लीरमण रेग्मी भन्नुहुन्छ ।
जातिको उद्गम सम्बन्धमा विभिन्न मानिसको विभिन्न धारणाहरु छन् । अधिकांशको भनाईमा कुल, वर्ण र काम अनुसार नै जाति निस्केको हो । तर हिन्दूहरुको भनाइमा मतभेद छन् । केही विद्वान्ले त यो सामन्ती सोच भएका राजा ब्राह्मणहरुको आविष्कार भनेका छन् । तर जन्म व्यवसायको भरमा जाति व्यवस्था नेपाल र यो प्रायदीपमा मात्र होइन, पहिले फ्रान्स, रोम र जापानमा पनि प्रचलित थियो । त्यसपछि यो व्यवस्था हाम्रोमा आएको हो । यो व्यवस्था भारतमा बाहेक प्रायः अन्य ठाउँमा चलेको देखिँदैन ।
जयस्थिति मल्लले बनाएको जातीय वर्गीकरण भन्दा पहिले दुइटा मात्र जात थिए – भारो र भाबो । शासक वर्गलाई भारो भनिन्थ्यो भने बाँकी सम्पूर्ण वर्गलाई भावो भनिन्थ्यो । त्यसबेला ज्यापुहरुलाई भावो भनिन्थ्यो । पछि जातिको वर्गीकरणपछि भावो नै ज्यापु भएको हो । त्यसमा पनि कामको आधारमा यस जाति पनि विभिन्न थरमा वर्गीकरण हुन गयो, जस्तै कि महर्जन, डंगोल, सुवाल, सिं, प्रजापति आदि । भारो शब्दको अर्थ कहीँ श्रेष्ठ भनेर पनि प्रयोग गरेको छ । नेवार जातिमा श्रेष्ठ थर अधिक चर्चित छ । श्रीयन्त्रलाई इष्टदेव मान्ने नेवार भएकाले श्री+इष्ट=श्रेष्ठ भनेको भन्ने भनाइ पनि छ ।
शारीरिक बल खर्च नगर्ने तर राज्यसत्तासँग नजिक रहेर व्यापार, उद्योग, राजनीति, प्रशासन र औषधी व्यापार आदि कार्य गर्ने नेवारहरुलाई मल्ल राजाको पालसम्म भारो भन्ने चलन छ । श्रेष्ठहरुको छ वटा जात र ६८ उपजात छन् भनी पुरातत्वविद् शंकरमान राजवंशीको भनाइ छ । मास्के, प्रधान, अमात्य, जोशी, राजभण्डारी, कर्माचार्य मूल श्रेष्ठ हुन् । नेवारजातिको यस श्रेष्ठ (स्यस्यः) समाजभित्र मंगोलियन नश्ल मात्र होइन, खस, ब्राह्मणदेखि लिएर मधेशमा बस्ने मधेशीहरु र हिमाली जातिकाका तामाङ सम्मको नश्लका अस्तित्व पनि छन् ।
जयस्थिति मल्लले यस नेवार जातिमाथि चार वर्ण छत्तिस जातको मनु महाराजको हिटलरी नीति नपकडाई दिएका भए पृथ्वीनारायण शाह पनि जातिवादी नभएका भए आजसम्म त्यही नेवार संस्कृति र राष्ट्रियता एक ढिक्को भएर बज्र झैं बलियो हुने थियो, दुर्भाग्य त्यो भएन भनी धर्मरत्न यमीले भनेको कुरा सान्दर्भिक छ ।
नेवारहरु जति पुराना छन्, त्यत्तिकै नेवारी भाषा (नेपालभाषा) पनि पुरानो छ । किराँतकालमा नेवारी भाषा जनभाषाको रुपमा प्रचलित भएको देखिन्छ । लिच्छवीकालदेखि शासक र पुरोहित वर्ग बाहिरबाट आएका र संस्कृतका पक्षपाती हुँदा लोकभाषा नेपाली भाषाले विकास गर्न पाएन । राजा जयस्थिति मल्लको शासनकालदेखि भने नेवारी भाषाले प्रश्रय पाउन थाल्यो । त्यसताका नेपालभाषा नामले देशभाषाका रुपमा नेवारी भाषाले सम्मान पाएको थियो । त्यस्तै सम्वत् नेपाल सम्वत् चलाइन्थ्यो । नेपाल सम्वत् मध्यकालीन समयमा नेपाल खाल्डोमा सीमित थिएन, भारत र चीनका शासकहरुले समेत चलाएको देखिन्छ । राजा सिंहप्रताप शाहको शासनकालमा नेपाल तिब्बत सन्धीपत्र समेत नेवारी भाषामा लेखिएको कुृराले के प्रष्ट हुन्छ भने राणाकाल अगाडि भाषागत भेदभाव महसुस गरिएको थिएन । राणाकालमा अन्य क्षेत्रमा जस्तै नेवारी भाषाप्रति दमनचक्र चल्न थाल्यो । सूर्यविक्रम ज्ञवालीको भनाइ अनुसार नेवारी भाषा पनि चिनियाँ, बर्मेली इत्यादि भाषा सहर एक मात्रिक भाषा हो ।
नेवारी भाषाका आफ्नै लिपिहरु छन् ः गोलमोल, रञ्जना, भूँजिमोल, कुमोल, क्वेँमोल, हिमोल, लितुमोल लिपि । यी लिपिमा लेखिएकालाई नेपाल लिपि भन्ने गरिएको छ । तिब्बती महायान्मा मन्त्रहरु नेवारी लिपिमा लेख्ने र गुम्बाहरुमा सजाउने काम मंगोलिया, रुस, चीन र भुटानमा समेत फैलियो । हाल यस भाषामा पनि सुगमताका लागि मुद्रणमा देवनागरी लिपिको प्रचलन हुन थाल्यो ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न भाषाभाषी जातजातिको बसोबास छ । नेपालको ७५ मध्ये ७३ जिल्लामा नेवारहरुको पनि बसोबास छ । उनीहरुले आफ्नो जातीय पहिचान झल्कने केही न केही कुरा चलनचल्तीमा राखेको देखिन्छ । जस्तै नेवारभाषा वा केही नेवार शब्दहरु, भेषभूषा, खाने परिकारहरु, चलनचल्तीको घरायसी सामानहरु, रोजगारीका सामानहरु, बाजागाजा, नाचगान, रीतिरिवाज, चाडपर्व आदि ।
नेवारको आदि भाग काठमाडौं उपत्यका हो । तर विभिन्न समयमा नेवारहरु काठमाडौं उपत्यकाबाट टाढा जाने काम भएको छ । नेपालको विभिन्न जिल्लामा मात्र होइन, नेपालबाट बाहिर जाने काम भएको छ । विशेष गरेर भारतको सिक्किम, दार्जीलिङ, कालिम्पोङ आदि ठाउँहरुमा नेवारहरु प्रशस्त छन् । प्रवासमा भएका नेवारहरु अनेक जातका भएर पनि राजनीतिक, सामाजिक र सांस्कृतिक कारणले त्यस प्रकारका नेवारहरुले आफ्नो मौलिक जातलाई छोडेर सजिलोको रुपमा ``प्रधान´´ भनेर लेख्ने चलन गरेको छ ।
नेवारी कला, संस्कृति, परम्परा अनि चाडपर्व आफ्नै विशेषताको छ । जुन हाम्रो मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत प्रचलित छ । संयुक्त राष्ट्रसंघमा सदस्य भएका सबै मुलुकहरुले आफ्नो लिपि राखेका छन् । नेपालको परिचयका लागि नेपालका नेवारीहरुको संस्कृति र कलाकारिताको मौलिक लिपिमा रञ्जना लिपि उल्लेख भएको छ । यो सबै राष्ट्रको गौरवको विषय हो । यसर्थ नेवार कला, संस्कृति, भाषा, साहित्य र सम्पदा नेवारहरुलाई एक ढिक्का बनाई राख्नु जरुरी छ ।  तर राज्यको तर्फबाट सयौं वर्षदेखि नेवारी समुदायप्रति नराम्रो नजरले हेर्ने जुन काम भएको छ, त्यो नेवार समुदायले गहिरो चोट पाएको अनुभव लिएको छ । अनि नेवार जातिमा छुवाछुत, पानी चल्ने, नचल्ने नियमहरु जुन कायम भएका छन्, त्यो आप्रवासी हिन्दु आर्यहरुको मनुस्मृति नियमका कारण भएको हुनाले त्यसलाई हटाउनु जरुरी छ, किनकि त्यो अति दुःखद पक्ष हो ।